हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका छन् । दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिन्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।
चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० श्यया गरी ३० श्ययाको सेवासहितको कोभिड–१९ का बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका थिए । विगत एक–दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटौँडामा खपत हुने आवश्यकताअनुसार अक्सिजन सिलिन्डर आउन छोडेकाले कोभिडका बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ ।
दुईवटा अस्पतालमा ३० श्ययाको एचडियु सेवासहितको कोभिड उपचार गरी आइरहेको र अक्सिजनको सिलिन्डर आपूर्ति नभएकाले उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएको छ ।रासस












