अनुमतिविनै मेसिन प्रयोग गरेर उत्खनन्

प्रकाशित मिति:

नवलपरासीको सुनवल नगरपालिकाको पानभार, तुरिया,बिसासय र तिलकाना खोलाको ठेक्कामा पनि ठेकेदारले अनुमतिविनै एक्साभेटर प्रयोग गरेर नदी उत्खनन् गरिरहेको पाइएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले एक्साभेटर प्रयोग गर्न दिएको फर्जी पत्र देखाउंदै नदी उत्खनन् गरेको पाइएपछि स्थानीयले विरोध गरेपछि उत्खनन् कार्य चार दिनसम्म रोकिएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले कामदारको प्रयोग गरेर उत्खनन् गर्न अनुमति दिइएको भन्दै जिल्ला समन्वय समितिलाई पत्र नै लेखेर एक्साभेटर प्रयोग गर्ने अनुमति नदिइएको जानकारी गराएपनि ठेकेदारले पुनः तीनवटा एक्साभेटरको प्रयोग गरेर मनपरी नदी उत्खनन् गरेर ढुंगा, गिट्टी,बालुवा निकालिरहेको स्थानीय माधव अर्यालले बताए । प्रमुख जिल्ला अधिकारीलाई अवैध उत्खनन् रोक्न माग गर्दै निवेदन दिएपनि बेवास्ता भएको उनले बताए ।

‘अवैध काम भयो भनेर सरकारी निकायहरुमा गुनासो गर्दा एकले अर्कोलाई देखाउंदै पन्छिने काम मात्रै गरेर ठेकेदारलाई नै पोस्न खोज्छन्’–अर्यालले भने–सिडिओलाई भन्दा जिल्ला समन्वय समितिलाई भन्नुस् भन्नुहुन्छ, समन्वय समितिमा जांदा नगरपालिकाको जिम्मा हो भनेर पन्छिन्छन् ।’ स्थानीय सरकारले आम्दानी मात्रै हेर्ने तर वातावरण, जलस्रोत लगायत अन्य पक्षलाई बेवास्ता गर्दा ठेकेदारलाई मनपरी गर्ने बाटो खुलेको सुनवल १२ का अर्जुन पाण्डेले बताए । जिल्ला समन्वय समितिले पनि प्रभावकारी अनुगमन गर्न नसकेको स्थानीयको गुनासो छ । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर कानूनको परिधिमा रहेर ठेक्का लगाएको दावी गर्छन् । ‘कतै बेथिति भएको भए नगरपालिकाले पनि हेर्छ,तर अनुगमनको काम जिल्ला समन्वय समितिको हो’–उनले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोना महामारीका कारण सम्पूर्ण ध्यान कोरोना नियन्त्रण, उपचार र अक्सिजनमा लगाउनुपर्दा सामान्य अवस्थामा जस्तो अनुगमन हुन नसकेपनि कतैबाट उजुरी आए अवैध उत्खनन् र चोरी निकासी तत्काल नियन्त्रण हुने प्रतिक्रिया दिए ।