प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गौतमको ५ लाख सहयोग

प्रकाशित मिति:

✍️भरत प्रधान

लिस्बन । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पोर्चुगलमा होटल व्यवसाय गर्दै आउनुभएका राजकुमार गौतमले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

गौतमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई हजार आठ सय ७९ युरो अर्थात्  ५ लाख रुपैयाँ सहयोग गर्नुभएको हो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको गौतमले बताउनुभयो।

भोटेकोशी बाढीले निम्त्याएको अकल्पनीय विनाश र मानवीय क्षतिले आफूहरूलाई समेत असह्य पीडा दिएको उल्लेख गर्दै उहाँले विपत्तिमा परेका नागरिकको पीडामा थोरै भए पनि राहत पुर्‍याउन सकियोस् भन्ने भावनाले सहयोग गरिएको बताउनुभयो।

काठमाडौं कोटेश्वरका गौतम विगत दुई दशकदेखि सपरिवार पोर्चुगलमा बस्दै आउनुभएको छ। उहाँले पोर्चुगलमा लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ।