जेठ १४, स्याङ्जा । नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिको लागि भएको २०३६ सालको विद्यार्थी आन्दोलनमा जेठ १४ गते तत्कालीन पञ्चायती शासकको गोली लागेर शहादत प्राप्त गरेका अमर सहिद महेन्द्र शाहको ४२ औं स्मृति दिवस पुतलीबजार-१४, सतौँ स्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा रहेको उनको अर्धकदको शालिकमा माल्यार्पण गरि मनाइएको छ।
कोरोना महामारीको दोस्रो लहरका कारण पूर्ण स्वास्थ्य मापदण्ड अपनाउँदै आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस स्याङ्जाका का।बा।सभापति कुमार रानाले शहिदहरू बाँच्नेहरूको लागि बाँच्न सजिलो होस् भनेर मर्न तयार हुने बताउँदै सहिद महेन्द्र शाह जस्तै सपुतहरूको रगतले सिंचित अहिलेको व्यवस्था र संविधानमाथि केही अराजक तत्वहरूले धावा बोलिरहेको र त्यस्ता तत्वहरूको विरूद्ध लड्न सयौँ महेन्द्र शाह तयार रहनुपर्ने बताए।
कार्यक्रममा सहिद पिता मेघबहादुर शाह, तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के।सी।,सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, नेपाली काङ्ग्रेसका युवा नेता बिष्णुकुमार श्रेष्ठ लगायतले श्रद्धाञ्जलि मन्तव्य राख्नेका थिए । नेपाली काङ्ग्रेस वडा कार्यसमिति पुतलीबजार-१४, का सभापति जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए। २०१८ चैत २७ गते बुवा मेघबहादुर शाह र मुमा हिराकुमारी शाहको कोखबाट जन्मेका महेन्द्र शाह नेपाल विद्यार्थी सङ्घमा आबद्ध थिए । सानैदेखी जुझारू र क्रान्तिकारी स्वभावका मल्ललाई २०३६ सालको विद्यार्थी आन्दोलनमा अग्रमोर्चामा रही तत्कालीन निरङ्कुश ब्यवस्थाको बिरूद्ध लड्दै गर्दा स्याङ्जा बजारको शहिदचोकमा हाल टावर रहेकै स्थानमा पञ्चायती शासकको गोली लागेको थियो।












