नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्याको मुख्य कारण प्रहरीले खुलासा गरेको छ । सोमबार पाण्डेय हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्ने क्रममा प्रहरीले सो खुलासा गरेको हो । प्रहरीका अनुसार पाण्डेयको हत्या हुनुमा आफ्नै श्रीमती महिमा पाण्डेय प्रमुख दोषि ठहरिएकी छिन् ।
जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले पत्रकार सम्मेलनमा पाण्डेयको श्रीमती महिमा पाण्डेयले घटनाका मुख्य योजनाकार प्रकाश भन्ने ओम प्रकाश यादवसंग लामो समयदेखि अनैतिक सम्बन्धमा रहेको र त्यो नै हत्याको प्रमुख कारण देखिएको बताउनुभयो ।प्रहरीका अनुसार बिगत ५ बर्ष देखि प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतक दीपकको श्रीमती महिमा पाण्डेयको बीच भएको अनैतिक सम्बन्धका कारण मृतकको श्रीमान पाण्डेयले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई यो घटना घटेको हो ।पछि पनि उनीहरु बीच अनैतिक सम्बन्ध कायमै रहेको, मृतकको श्रीमती पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक श्रीमान पाण्डेलाई मार्ने योजना बनाई बिगत २÷३ बर्ष अघी देखि नै श्रीमानलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी ९बैना० समेत लिएता पनि पटक पटक को प्रयास असफल भएपछि लामो निग्रानी पश्चात गत जेठ ५ गते हत्या भएको खुल्लमा आएको हो ।
पक्राउ गरेका व्यक्तिहरुले समेत गोली हानी घाईते बनाएर मार्न सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।हत्यामा संलग्न मुख्य प्रतिवादीहरुलाई हातहतियार सहित र उक्त हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने कार्यमा संलग्न सबै घटनाका दोषिहरुलाई प्रहरीले सत प्रतिशत पक्राउ गर्न सफल भएको छ ।उनीहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











