काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु भनिएको छ ।
अर्थसंसार डटकमका प्रधानसम्पादक तथा अधिवक्ता लिलानाथ घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अग्रपंक्तिमा खटिने पत्रकारलाई प्राथमिकतामा खोप दिने व्यवस्थाका लागि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथिको सुनुवाइबाट सो आदेश जारी भएको हो ।












