राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

प्रकाशित मिति:

सुर्खेत-राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सुर्खेत जिल्ला अदालतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भुपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले कारागार चलान गरेको हो।अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। आज भएको धुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

गएको जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेका थिए। होटलमा पुर्‍याएर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।