देउवाकाे दाबी : ओलीले आफ्नाे पक्षमा निर्णय गराउन अदालतलाई धम्की दिइरहेका छन्
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको दाबी गर्नुभएको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा बोल्दै सभापति देउवाले यस्तो दाबी गर्नुभएको हो ।
कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधैँ संविधानअनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताउनुभयो ।उहाँले भन्नुभयो, उहाँ (प्रधानमन्त्री) ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश रु कहाँबाट न्यायालय टिक्ला त रु कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद् पनि कहिलेकाहीँ ठप्प गरिदिन सक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कति वटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनै पनि न्यायाधीशहरू डराउनु हुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि छ । संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।
विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै देश र देशवासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एक ठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।











