सर्वोच्चको फैसलाबारे एमाले स्थायी कमिटी बैठकमा छलफल

प्रकाशित मिति:

नेकपा (एमाले) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य पनि सहभागी रहेको छन्। नेपाल पक्षको तर्फबाट कार्यदलका संयोजक भीम रावल पनि स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।

स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलाबारे छलफल भइरहेको जनाइएको छ। सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।सर्वोच्चको फैसलापछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले बताए। सर्वोच्चको फैसलाको नेपाल पक्षले स्वागत गरेको छ भने ओली पक्षका नेताहरूले विरोध जनाएका छन्।

सर्वोच्चको फैसलामा एमालेका २३ जना सांसदलाई कारबाही नगर्न पनि आदेश दिएको छ। देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दिएको निवेदनमा एमाले २३ जना सांसदले पनि हस्ताक्षर गरेका थिए। त्यस विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल भइरहेको जनाइएको छ।