नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज हुने देउवाको शपथ ग्रहण कार्यक्रममा ओली नजाने भएका हुन्।प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका छन्। तर नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिको व्यहोरामा विवाद भएपछि कार्यक्रम ढिला भइरहेको छ।
संविधानको धारा उल्लेख नगरिनुका साथै संसदीय दलका नेताको रूपमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयले पठाएको प्रति देउवाले असन्तुष्टि जनाएका हुन्।पत्रको भाषा नसच्चिएसम्म सपथ नलिने अडान उनले लिइरहेका छन्। राष्ट्रपति कार्यालयमा पत्र सच्याउने विषयमा अझै छलफल भइरहेको छ।प्रधानमन्त्रीको सपथ लिसन शीतलनिवास पुगे पनि देउवा सपथस्थलमा गएका छैनन्।
शपथ कार्यक्रम हुने समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मीलगायत उपस्थित छन्।सपथग्रहण समारोहमा सहभागी हुने उपराष्ट्रपतिसहित नेपाली कांग्रेस, माओावदी केन्द्र, जसपालगायतका राजनीतिक दलका नेताहरू शीतल निवास पुगेका छन्।











