युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

प्रकाशित मिति:

जाजरकोट– युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । सामाजिक सञ्जालमा निक्कै भाइरल भएको एक भिडियोमा वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिएको छ । जनप्रतिनिधिको यो क्रुर व्यवहारको चौतर्फी विरोध भएपछि वडाध्यक्ष पक्राउ परेका हुन् । ती युवालाई कुटपिट गर्ने जनप्रतिनिधि जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली हुन् ।

स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । उनले भने, ‘टाढा भएका कारण विभिन्न इलाका प्रहरी कार्यालयको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो ।’ प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडाध्यक्षविरुद्ध उजुरी दिएका छैनन् ।