लुम्बिनी: शंकर पोखरेलको राजीनामा स्वीकृत

प्रकाशित मिति:

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।बुधबार विशेष अधिवेशन बस्नुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । प्रदेशसभामा बुधबार नै पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यकालिका थियो ।

गत बैशाखमा पनि राजीनामा दिएर फेरि बहाल भएका एमाले नेता पोखरेलको अब मुख्यमन्त्रीको यात्रा टुंगिएको छ । पोखरेल अल्पमतमा परेपछि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेको थियो ।लुम्बिनी प्रदेशसभाले अब नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउनेछ । हालसम्मको राजनीतिक समिकरणका आधारमा वहुमत सांसदहरु विपक्षी गठबन्धन तर्फका माओवादी केन्द्रका नेता कुलप्रकास केसीको पक्षमा देखिएका छन् ।

उता सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिइएको छ । न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।