राष्ट्रपति भण्डारीद्वारा नारायणहिटी संग्रहालय अवलोकन

प्रकाशित मिति:

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको शुक्रबार अवलोकन गरेकी छन् । नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरेपछि पहिलो पटक राष्ट्रप्रमुखबाट अवलोकन भएको हो । कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएपछि संग्रहालय सर्वसाधारणलाई अवलोकन बन्द गरिएको छ । ‘राष्ट्रपतिज्यूले पहिलो पटक नारायणहिटी दरबार संग्रहालयको भ्रमण अवलोकन गर्नुभयो,’ नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘राष्ट्रप्रमुखबाट दरबार संग्रहालयको पहिलो अवलोकन पनि हो । संग्रहालय बनेपछि हालसम्म भए गरिएका कामहरूलाई देखाउन पाएका छौं ।’

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०६५ असार १ गते उक्त संग्रहालयको उद्घाटन गरेका थिए । त्यही वर्ष फागुन १५ गते अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उक्त संग्रहालय सर्वसाधारणका निम्ति प्रदर्शनीको शुभारम्भ गरेका थिए । त्यसैगरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ भदौ २९ गते श्रीपेच, राजदण्ड कक्ष सर्वसाधारणका निम्ति खुला गरेका थिए । गत मंसिर पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन उद्घाटन गरेका थिए ।दरबारभित्र विभिन्न बैठक कोठाहरू, राजारानीका शयन कक्षहरू, राजकीय पाहुनाहरूले प्रयोग गर्ने शयन कक्षहरू, भान्सा कोठा, भोजन कोठालगायत ५२ वटा कोठा रहेका छन् । तीमध्ये ३२ वटा कक्षलाई प्रदर्शनीमा ल्याइएका छन् । राष्ट्रपति भण्डारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका पदाधिकारी सदस्यहरूले स्वागत तथा संग्रहालयको अवलोकनमा साथ दिएका थिए ।

लकडाउनको बेला समितिले ऐतिहासिक दरबारको जीर्णोद्धार र पुनस्निर्माण कार्य जारी नै रहेको जनाएको छ । फोहरा बगैँचा निर्माण, दरबारभित्र सबै रंगरोगन, फोटोग्राफी डकुमेन्टेसन, दरबारका सामग्री वैज्ञानिक लिस्ट, श्रीसदनको छाना मर्मत, ग्यारेज मर्मत गरेको कार्यकारी निर्देशक दाहाले बताए । ‘कोरोनाको कारण बजेट पाएका छैनौं,’ आन्तरिक स्रोतबाट काम भइरहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले चाँडै बजेटको उपलब्ध गराउने आशामा छौं ।’नारायणहिटी दरबार शाह वंशको अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना छ । शाह वंश सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास समेटेर ‘लाइट एन्ड साउन्ड’ (डिजिटल इतिहास) निर्माण गरी प्रदर्शन गरिने कार्यकारी निर्देशक दाहालले जनाएका छन् ।

संग्रहालय परिसरमा जर्मन शासक हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको गाडीलगायत राजपरिवारले प्रयोग गरेका गाडी प्रदर्शनीमा छन् । साथै युवराज दीपेन्द्र, युवराज्ञी श्रुति र युवराज निराजनका बाल्यकालमा गुडाएका सानादेखि अनेकौं मोटर गाडीहरू प्रदर्शनीमा राखिएका छन् । राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकप्टर दरबार संग्रहालय परिसरमा राखिएका छन् ।काठमाडौं महानगरपालिका वडा नं। १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिलमा मुमा बडामहारानी रत्न बस्दै आएकी छन् । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग रहेको छ ।