काठमाडौँ/ हाइटीमा गएको ७।२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ ।भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।
हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको उल्लेख गर्दै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर ९झन्डै १० फिट० सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ ।
यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७।० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।












