अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

प्रकाशित मिति:

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका(४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् ।

चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धमाया पुलामी र उनकी दुई नातिनीहरु ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।प्राधिकरणका अनुसार नवलपरासी पूर्वकै गैंडाकोट–९, थुम्की बजार नजिकै पूर्व(पश्चिम राजमार्गमा पहिरोले रुख लडाउँदा अवरुद्ध राजमार्ग पन्छाउने क्रममा एक जना घाइते भएका छन् ।मिटी ट्रकका एक जना सह–चालकले रुख पन्छाउने क्रममा अर्को रुख ढलेपछि उनी घाइते भएका हुन् । घाइते व्‍यक्तिलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएको बताइएाके छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१, ढाडेमा सिंहदेवी आधारभूत विद्यालयमा पहिरो गएको छ । घटनामा विद्यालयको पर्खाल पूर्ण रुपमा भत्किँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका–६, साल्माटोलमा दुई वटा घर पहिरोले बगाएको छ । घटनामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।अविरल वर्षाका कारण घर भत्किँदा ५ वटा जिल्लामा पशुचौपाया, धनमाल तथा भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणका अनुसार स्याङ्जाको आधीखोला गाउँपालिका–२, मढुवा मुसुरीमा एउटा गोठ भत्किँदा केही पशु चौपाया पुरिएका छन् । दाङको तुलसीपुर–१३, अम्बापुरमा एउटा घर भत्किएको छ, घटनामा कम्तिमा ६ लाख रुपैयाँ क्षति भएको भनिएको छ ।

कञ्चनपुरको भीमदत्त–६, भगवती टोलमा गोठ र भान्साघर भत्किएको छ भने नवलपरासी पश्चिमको सराबल–१७, देवगाउँमा एउटा घर भत्किएको छ । रौहहटको जयनगरमा ५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।कैलालीको चुरे गाउँपालिका–५, खानी डाँडामा भिमदत्त राजमार्गमा पहिरो जाँदा पूर्णरुपमा सडक अबरुद्ध छ । त्यहाँ अस्थायी प्रहरी पोष्ट, खानीडाँडाबाट प्रहरी सहयाक निरीक्षकको नेतृत्वमा टोली गएर राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

प्रभावकारी प्रतिकार्यमा तैनाथ हुन गृहमन्त्रीको निर्देशन

देशका विभिन्न जिल्ला जनमग्न हुन थालेपछि गृहमन्त्रालयमा शुक्रबार आकस्मिक विपद व्यवस्थापन सम्बन्धी बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विपद् जोखिम न्यूनिकरण तथा व्इवस्थापन प्राधिकरण, सडक विभाग लगायतका प्रतिनिधि सहभागी थिए ।बैठकमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचना÷पूर्वाधारहरुको पुननिर्माण पुनस्र्थापना लगायतका विषयमा छलफल भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

उनका अनुसार बैठकमा मन्त्रालय, सुरक्षा निकाय र अन्य निकायका प्रतिनिधिले हालै भएका बाढी, पहिरो र डुबानबाट भएका क्षति, खोज तथा उद्दारबारे जानकराी गराएका थिए । बैठकमा भएको व्रिफिङमा बिहीबार रातिदेखि शुक्रबारसम्ममा ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको भनिएको छ ।बैठकमा गृहसचिव टेकनारायण पाण्डेले मनसुनजन्य विपद्का कारण जोखिममा रहेका मानिसहरुको प्राथमिकताका साथ उद्दार गरी सुरक्षित स्थानमा राख्न निर्देशन दिए । साथै, अबरुद्ध सडक, खानेपानी लगायतका सेवा तत्काल सूचारु गर्न पनि सबै निकाय समन्वयात्मक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।गृहमन्त्री खाणले मनसुनको समय अझै बाँकी रहेको बताउँदै सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर प्रभावकारी पूर्वतयारी र प्रतिकार्यका लागि तैनाथ रहन सबै निकायलाई निर्देशन दिएका छन् ।