पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच मंगलबार भेट भएको छ । मुख्यमन्त्री निवासमै भएको भेटघाटमा पूर्वमन्त्री भट्टराईले प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिका बारेमा जानकारी दिए ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोति रिजाल, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य थिए ।
विषेश राजनीतिक परिवेशमा प्रदेश र संघमा गठनबन्धनको सरकार बनेको र सानातिना मतभेदलाई पन्छाउँदै अगाडि बढ्नुपर्नेमा दुवैजनाको जोड थियो । मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको बताए ।
प्रदेशको क्षमता अनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि संघ सरकारबाट थप रकमको अपेक्षा गरिएको उनको भनाइ थियो । बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनर्निर्मााणका लागि संघ सरकारको भर परेको मुख्यमन्त्री पोखरेलले बताए ।
पूर्व प्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्ने बारेमा आफूहले निरन्तर छलफल गरिरहेको भनाइ राखे । यो सरकारलाई असफल हुने छु नरहेको भन्दै उनले ससाना मतभेदलाई भित्रै मिलाएर लैजान उनले सुझाए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उनले आग्रह गरे ।प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि जेठ २३ मा नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गठवन्धन सरकार बनेको छ । गठवन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकजना स्वतन्त्र सांसद छन् ।











