६ असोज,बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
समाजले बुटवलको राजमार्ग चौराहामा गान्धीको स्मरण गर्दै विश्व अहिंसा दिवस मनाएको हो । सो अवसरमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए । नेपाल विश्व शान्तिका अग्रदूत बुद्धको जन्मथलो भएकाले संसारभरी शान्ति र अहिंसाको सन्देश फैलाउन लुम्बिनी प्रदेश सरकारले विशेष नीति र योजना बनाउन सभापति खनालले सुझाए ।
दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएका र गृह मन्त्रालयको प्रतिवेदनमा समेत घटनामा भारतीय सुरक्षाकर्मीको प्रत्यक्ष संलग्नता रहेको प्रतिवेदन सार्वजनिक गर्दासमेत भारतले दोषी सुरक्षाकर्मी पक्राउ गरी सुपुर्दगी सन्धि अनुसार नेपाललाई हस्तान्तरण नगर्नु विडम्बना भएको उनले बताए ।राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरुलाई हिंसारहित समाज निर्माणमा प्रेरित गर्दै अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्ने अभियान देशव्यापी चलाउन जरुरी रहेको मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालले बताए ।












