रुपन्देही उद्योग संघमा एमाले, कांग्रेस र माओवादी एकै ठाउँ, अध्यक्षमा पौडेल सर्वसम्मत
बुटवल-राष्ट्रिय राजनीतिमा दलहरु दुई धुव्रमा फर्किएको बेला रुपन्देहीमा उद्योगीको संस्थामा भने दलहरु एकै ठाउँ उभिएका छन्। केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरु एकातर्फ भइरहेको बेला रुपन्देही उद्योग संघको नयाँ नेतृत्वमा भने एमाले, कांग्रेस र माओवादी निकटका व्यवसायीहरु एकै ठाउँ उभिएका हुन्।
तीन दल निकटका व्यवसायीहरुले पदको भागबन्डा गरेर सहमति गरेपछि अधिकांश पदमा निर्विरोध भएको छ। बिहिबार गरिएको मनोनयनमा अध्यक्षमा माधव प्रसाद पौडेलको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत निर्वाचित भएका छन्। पौडेल एमाले निकटका व्यवसायी हुन्।
निर्वाचन आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्वितिय उपाध्यक्ष पदमा जीवकान्त काफ्ले निर्विारोध भएका छन्। सापकोटा र पराजुली एमाले र काफ्ले कांग्रेस निकटका हुन्। संघमा एमाले निकट व्यवसायीहरुको वर्चस्व छ। कोषाध्यक्षमा निर्विरोध भएका हिरामणी भटराई कांग्रेस नकिट हुन्। माओवादी केन्द्र निकटका उद्योगीहरुले भने सदस्य मात्रै पाएका छन्। महिला सचिव पदमा मन्जु भुसाल, सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवाली निर्विराध भएका छन्।








