तृषा पशुपालक समूहको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

तृषा पशुपालक समूह तिलोत्तमा नगरपालिका १३ मधवलिया, रुपन्देहीले आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । भैसीपालनमार्फत दुध र दुग्ध पदार्थ पदार्थ उत्पादन गरेर उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले गठित समूहले तिलोत्तमा–१३ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका–१३ का वडाअध्यक्ष गणेश न्यौपानेले कृषकहरुलाई कृषक समूहमा आबद्ध हुन आग्रह गरे । उनले प्रतिष्पर्धाका लागि समेत कृषक समूहमा आबद्ध हुनुपर्नेमा जोड दिए । वडाअध्यक्ष न्यौपानेले भारतबाट समेत दुग्ध पदार्थ आयात गर्नुपरेका दुःखेसो पोखे । ‘राज्यको नीतिका कारण पशुपालक कृषक मर्कामा परेका छन्, गाई भैसीको दुध दुहेर पशु चौपायलाई खुवाउनुपर्ने बाध्यता छ, ’उनले भने । कृषकले अनुदान पाउने प्रक्रिया सहज नभएको उनको भनाइ छ । ‘नीतिनियम बनाउने ठाउँमा किसान पुग्न सकेका छैनन्, वास्तविक कृषक अनुदानबाट वञ्चित छन्, कृषि क्रान्तिको आवश्यकता छ, ’उनले भने ।

तृषा पशुपालक समूहका अध्यक्ष दिपशिखा घिमिरेले सार्वजनिक सुनुवाईमा आएका सुझाव सल्लाहलाई मध्यनजर गर्दै समूह अगाडी बढ्ने बताइन् । उनले शुद्ध दुग्ध पदार्थ उत्पादन गरेर विक्रीवितरण गर्ने समूहको उद्देश्य रहेको बताइन् ।समूहका उपाध्यक्ष गोपाल शर्माले भैसीको दुध उत्पादन गरेर उपभोक्ता समक्ष शुद्ध दुध र दुग्ध पदार्थ पुर्‍याउने समूहको उद्देश्य रहेको बताए । उनले छिमेकी मुलुकबाट आयात हुने दुधजन्य पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।समूहका सचिव अमित शर्माले उत्पादनलाई बजारीकरण गर्न सहज होस् भन्ने उद्देश्यले समूह गठन गरिएको बताए । उनले सिद्धार्थनगर–१२ मा समूहको सम्पर्क कार्यालय रहेको जानकारी दिए ।नेपाली कांग्रेस तिलोत्तमा–१३ का सभापति नारायण ढकालले उर्जाशिल शक्ति विदेश पलायन भएकाले काम गर्ने जनशक्ति पाउन समस्या भएको बताए । उनले अनुदानका लागि कृषि नभइ कृषिका लागि अनुदान हुनुपर्ने बताए । ढकालले अनुदान वास्तविक कृषकले पाउनुपर्नेमा जोड दिए ।

कृषक प्रकाश न्यौपाने, प्रहरी चौकी चिल्हियाका प्रमुख भीमार्जुन अधिकारी लगायतले समूहको उद्देश्यको बारेमा जिज्ञासा राखेका थिए । नवज्योति आमा समूहका अध्यक्ष सीता न्यौपानेले समूहमार्फत सञ्चालन गरिने परियोजनाले रोजगारीको अवसर सिर्जना गर्ने बताइन् । सेमरी टोल विकास संस्थाका अध्यक्ष हरि नारायण थारुले किसानले अनुदान पाउन प्रक्रिया सहज नभएको गुनासो गरे ।

थप समाचार