काठमाडौं- सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले आइतबार रातिदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो। सरकारले मृतक परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।बैठकले प्राकृतिक विपद्का कारण निधन भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्ने र मृतकका परिवारलाई समवेदना प्रकट गर्ने निर्णय गरेको छ। बैठकले विपद्बाट घर, बहाल नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसाय गुमाएका गुजारा चलाउन समस्यामा परेका पाँच जना सम्मको परिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ र पाँच जनाभन्दा माथि परिवार सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बाढी पहिरोमा परी घाइते हुनेहरुको उपचारको सबै व्यवस्था सरकारले गर्ने र उपचारमा कमी हुन नदिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए। उनले सम्बन्धित मन्त्रालयले विपद्बाट भएको क्षतिको आँकलन गरी यथशीघ्र प्रतिवेदन पेस गर्ने निर्देश दिने पनि निर्णय गरेको छ।त्यस्तै सडकसञ्जाल, पुल, विमानस्थलमा क्षति भएको भए तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउने व्यवस्था गर्ने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइ सञ्चालनमा ल्याउने प्रबन्ध मिलाउने, विपद् प्रभावित क्षेत्रमा रोग फैलिन नदिनरोकथामका आवश्यक उपायहरु अपनाउने, विपद् प्रभावितहरुको उद्धार तथा राहत कार्यमा सहयोग र समन्वय गर्न प्रदेश, स्थानीय तहलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । त्यस्तै बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान सम्बन्धी सूचनालाई ध्यान दिइ सतर्कता अपनाउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए।त्यस्तै बैठकले विपद्को घटना लगत्तै उद्धार र हेरविचार गर्ने, राहत उपलब्ध गराउने, उपचार गर्ने, सुरक्षा दिने समाचार सम्प्रेषण गर्ने कार्यमा लाग्न सुरक्षा निकाय, तथा प्रशासनिक संयन्त्र र जनप्रतिनिधिहरुलाई अनुरोध गरेको छ।
प्रवक्ता कार्कीले बाढी पहिरोबाट भएको क्षतिको पूर्ण आँकलन गरेर पहिला उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्ने बताए। उनले सरकारले गरेका निर्णयहरुलाई तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले सरकारले गरेको आफ्नो सय दिनको कामबाट जनताको आशा र विश्वास जागेको बताए। उनले मुलुकको समृद्धि र जनताको अभिलाषालाई पूरा गर्ने कुरामा सरकार दृढताका साथ अघि बढेको दाबी गरेका छन्।











