बाढीपहिरो पीडितलाई कम्तीमा २ लाख राहत दिन्छौँः गृहमन्त्री खाँण

प्रकाशित मिति:

पाँचथर — कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले पहिरो र बाढीमा परी ज्यान गुमाएका आफन्तसँगै विस्थापित परिवारलाई तत्कालै राहत दिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ का पहिरो प्रभावित क्षेत्रको निरीक्षणको क्रममा मंगलबार पाँचथरको तुम्बेवा गाउँपालिका केन्द्र मौवा आइपुगेका खाँणले राहतका लागि सरकारले विभिन्न दातृ निकायसँग हातेमालो गरिरहेको बताए ।

बाढी पहिरोले ज्यान गुमाएका परिवारलाई कम्तीमा २ लाख रुपैयाँ राहत रकमसँगै घरबार गुमाएर विस्थापित परिवारको पुनर्वासका लागि स्रोत पहिचान भइरहेको उनको भनाइ थियो ।बाढीपहिरो गएको एक साता बित्नै लाग्दा गत कात्तिक ७ गते पाँचथरको राँके आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउबाले बाढी पहिरोमा परेका नागरिकलाई तत्काल राहत दिने घोषणा गरे पनि हालसम्म पीडितले राहत पाएका छैनन् ।

प्रधानमन्त्री फर्केको १० दिनपछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्रीले पनि राहतको घोषणा दोहोर्‍याएका छन् । तर प्रतिवद्धता कहिले कार्यान्वयन हुने भन्नेबारे स्पष्ट पारेनन् ।खाँणले मंगलबार धनकुटाको ६ नम्बर बुधबारे,पाँचथरको तुम्वेवा, इलामको माङसेवुङ लगायत स्थानमा पहिरोले पुर्‍याएको क्षतिको जानकारी लिएका हुन् ।