२६ मंसिर, बुटवल । गत वर्ष ४८ वर्षीय राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष चुनिए। त्यतिबेला उनले त्यो जिम्मेवारी आफू जोडिएको परिवारका कारण पाएका थिए। १६ डिसेम्बरमा उनकी आमा सोनिया गान्धीले कंग्रेसको अध्यक्ष उनलाई हस्तान्तरण गरेकी थिइन्। अध्यक्ष बनेको वर्षदिन नपुग्दै लोकतान्त्रिक परीक्षाबाट राहुलले सावित गरिदिए कि उनी त्यो जिम्मेवारी पूरा गर्न सक्षम मान्छे हुन्।
मंगलबार सार्वजनिक भएको तीन ठूला राज्यको विधानसभा मतपरिणामले पार्टीभित्रमात्र होइन विपक्षी क्याम्पमै राहुलको स्थानलाई मजबुद् बनाइदिएको छ। लोकसभा चुनावको चार महिनाअघि भाजपाले १५ वर्षसम्म सत्ता चलाइरहेको छत्तिसगढ र मध्यप्रदेशमा कंग्रेस आईलाई जिताएर राहुलले स्पष्ट सन्देश दिएका छन्अ । अब र्को कार्यकालका लागि प्रधानमन्त्री चुनिन नरेन्द्र मोदीलाई सजिलो देखिँदैन ।
मंगलबारको चुनावी परिणाम किन पनि अर्को लोकसभा चुनावसँग जोडिन्छ भने गत चुनावमा यी तीन राज्यका ६५ सिटमध्ये भाजपाले तीनबाहेक सबै सिट जितेको थियो। यसपालि छत्तिसगढ र मध्यप्रदेशमा १५ वर्षदेखिको भाजपा सत्ता ढलेको छ। मध्यप्रदेशका २३० मध्ये कंग्रेस आईले ११४ सिटमा जितेको छ भने भाजपाले १०९ सिट ल्याएको छ। बहुमतका लागि ११६ सिट चाहिन्छ। कंग्रेसले आफूले सरकार बनाउने दाबी गभर्नरसमक्ष पेस गरिसकेको छ।
छत्तिसगढको ९० सदस्यीय प्रदेश सभामा कंग्रेसले ६८ सिट जितेको छ, भाजपा १५ सिटमा खुम्चिएको छ। राजस्थानमा पनि कंग्रेस सबैभन्दा ठूलो दल बनेको छ। उसले बहुमतका लागि चाहिने १०१ भन्दा २ कम सिट जितेको छ। भाजपाले ७३ सिटमा चित्त बुझाएको छ राहुलले आगामी लोकसभा चुनाव विपक्षीबीच गठबन्धन बनाएर लड्ने पनि बताएका छन्। मतपरिणाम सार्वजनिक भएपछि संवाददाताहरूसँग कुरा गर्दै राहुलले अर्को चुनावमा विपक्षी गठबन्धन बनाएर जानेबारे कुराकानी भइरहेको बताए।
‘हाम्रा केही केन्द्रीय मुद्दाहरू छन्, जस्तो भारतीय युवालाई रोजगारी कसरी दिने ?, कृषि र किसानको भविष्य के हुन्छ ? भ्रष्टाचार कसरी निवारण हुन्छ। मैले बारम्बार भनिरहेको छु डिमोनिटाइजेसन घोटाला हो। राफाइलमा भ्रष्टाचार भएको छ,’ राहुलले भने, ‘मोदीको भिजन सुन्ने र कार्यान्वयन गर्ने धैर्यता देशले देखाएको छ। तर मोदी र भाजपा फेल भएका छन्। पाँच वर्षअघि मोदीले यो देशलाई बेचेको भिजनविरूद्ध सबै विपक्षी दलहरू लाग्नेछन्।’
कंग्रेस आईले इतिहासमै कम सिट (४४) पाएको सन् २०१४ को चुनावबाट आफूले जीवनको ठूलो शिक्षा पाएको राहुलले बताए। ‘मैले हिजो आमासँग भनें, मेरो जीवनको सबैभन्दा राम्रो कुरा नै २०१४ को चुनाव हो। यो के भनेको भने सोच्नुहोला। तर मैले त्यो चुनावबाट धेरै कुरा सिकें। कुराहरूलाई कसरी हेर्नुपर्छ र बुझ्नुपर्छ भन्ने थाहा पाएँ, सबैभन्दा महत्वपूर्ण कुरा त मैले विनम्र हुन सिकें,’ राहुलले भने, ‘नढाँटी भन्नुपर्दा त्यही चुनावबाट मिस्टर नरेन्द्र मोदीले मलाई राजनीतिज्ञको काम नागरिकको भावना थाहा पाएर त्यसैसँग जोडिनु हो भन्ने ठूलो शिक्षा सिकाए।’
एक वर्षमा राहुलले आफूलाई प्रमाणित गर्न तीन वटा मुख्य काम गरेका छन्। पहिलो, उनले पार्टीका सबै संगठनमा नियन्त्रण राखे र पुरानो र युवापुस्तालाई जोड्न पुलको काम गरे। उनले सिनियर नेतालाई बेवास्ता गरेनन्। सबैलाई ठाउँ दिए र पार्टीलाई पुनर्जीवन दिन्छु भन्नेमा उनीहरूलाई आश्वस्त पारे।
त्यसैले त अशोक गेलोट, सचिन पाइलट सँगै काम गर्न भने। कमलनाथ, ज्योतिरादित्य सिन्धिया र दिग्विजय सिंहले मिलेर काम गरे। पार्टीका प्रत्येक विभाग (सञ्चार, सामाजिक सञ्जाल, अनुसन्धान, डाटा विश्लेषण, विद्यार्थी युनियन, यूवा कंग्रेस) लाई सबै कुरा चुनावी मैदानका लागि लगानी गर्न भने। किनकी चुनावी जितभन्दा ठूलो कुरा केही होइन। राहुलले आफ्ना व्यक्तिगत महत्वकांक्षालाई थाँती राखे। घमण्डलाई जाँचे। उनले अरू नेतालाई सशक्त बनाउन लागे जुन विगतमा प्रायः हुन्नथ्यो।
राहुलले गरेको अर्को काम हो, उनले भाजपाका मुख्य दुई कमजोरी समाते। कृषि र बेरोजगार युवाका समस्या लिएर उनी असन्तुष्ट वर्गसँग घुलमिल भए। किसानलाई उनले भने– तपाईंको उब्जनीले राम्रो मूल्य पाउन पर्छ भन्नेमा तपाईंहरूको पक्षमा छु। कृषि ऋण छुट दिने वाचा गरे। बेरोजगार युवालाई उनले साना र मध्यम व्यवसाय नै रोजगारीको अवसर हो भने।
उनले गरेको तेस्रो काम कंग्रेस हिन्दुविरोधी हो भन्ने धारणामा परिवर्तन हो। उनी मन्दिरमा गए। तर सँगैसँगै अल्पसंख्यकलाई पनि चिढाएनन्। मंगलबार पनि संवाददाताहरूसँग राहुलले भने– हामी असहमत विचारधाराको कंग्रेस विरोध गर्छ तर त्यस्ता विचार पनि सुन्छ। कुनै विचार राख्ने मान्छे भारतबाट मुक्त गर्नुपर्छ भन्नेमा हामी छैनौं।
वर्षदिनमा राहुलले विधान सभामा चुनावी नेतृत्व सम्हाले र पहिलाभन्दा केही फरक गरे। अध्यक्ष हुनुभन्दा केही दिनअघि गान्धीले मोदी र अमित शाहको प्रदेश गुजरातमा साहसिक अभियान थाले। विधान सभामा भाजपाले चुनाव जित्यो तर कंग्रेसले पहिलाभन्दा केही सिट बढी जित्यो। कर्नाटका, मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोरममा पनि गान्धीले नै चुनावी मोर्चा सम्हाले। कर्नाटकामा भाजपा ठूलो पार्टी बन्यो तर मुख्यमन्त्री कंग्रेसले गठबन्धन बनाएर जनता दललाई ९एस० लाई दियो। मध्य प्रदेश, छत्तिसगढ र राजस्थानको चुनावी परिणामले राहुलको विगतको छवि उज्यालो बनाए पनि लोकसभाका लागि उनका सामू चुनौती कायमै छन्।
उत्तर प्रदेश, बिहार, आन्द्र प्रदेश, तेलंगना, तमिलनाडु, उडिसा र पश्चिम बंगालमा कंग्रेसलाई राजनीतिक स्थान गुमाएको छ। यहाँका मध्यम वर्ग, यवा र आममान्छे जो कंग्रेसका मुद्दामा आकर्षित छैनन् तीनलाई राहुलले आफूतिर तान्नुछ। अर्को कुरा विपक्षीहरूलाई एउटै मन्चमा ल्याउनु पर्नेछ। भाजपा विरोधी मत विभाजित नहोस् भन्नका लागि केन्द्र र राज्यस्तरीय गठबन्धन बनाउनु उनका लागि महत्वपूर्ण छ। एजेन्सीको सहयोगमा












