उर्जा मन्त्री रानाद्वारा प्रदेशको अस्थायी राजधानी बुटवलबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
बुटवल,२१ मंसिर । लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बीरबहादुर रानाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।नेपाली काँंग्रेसका युवा नेता तथा प्रखर वक्ता रानाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जनजातीतर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणा गर्दै रानाले पार्टीलाई विधि,पद्धति,नीति नियम तथा अनुशासनको लाईनमा हिडाउन, सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।
पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आएका रानाले आउँदो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने घोषणा गरेको बताए । राना यस अघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए ।समग्र लुम्बिनी प्रदेशको विकास पद्धतीमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्धती संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितृष्णा हटाउन पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।यही मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औ महाधिवेशनमा जनजाति खुला केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सारेको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।
नेपाली काँग्रेसलाई शसक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनीतिमा क्रियासिल बनाउन रानाले सक्रिय भूमिका निर्वाह गर्दै आएकोले रानालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको सभापति श्रेष्ठको भनाइ छ ।कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पोखरेलले राना पार्टीको नेतृत्व तहमा पुग्नु सबैका लागि राम्रो हुने धारणा राखे ।पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सदस्य बिष्णु प्रसाद पाण्डेयले सहजिकरण गरेका थिए ।











