बिग बास लिग(बीबिएल क्रिकेटको यो सिजन सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स पहिलो खेलमै पराजित भएको छ। बुधबार भएको खेलमा साविक विजेता सिड्नी सिक्सर्सले हरिकेन्सलाई १४ रनले पराजित गर्यो।
एक सय ४५ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३० रन मात्र जोड्न सक्यो। हरिकेन्सका पिटर ह्यान्ड्सकम्बले ४७ रन बनाए। अन्तिम दुई ओभरमा २३ रन आवश्यक रहेको बेला सिक्सर्सका क्रिस जोर्डनले १९ र टम कुरानले २० औँ ओभरमा कसिलो बलिङ गरेका हुन्। विजयी टोलीका टम कुरानले तीन र हेडन केरले दुई विकेट लिए।
त्यसअघि हरिकेन्सको मैदानमा टस हारेपछि पहिला ब्याटिङ गरेको सिक्सर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४४ रन जोडेको थियो। सिक्सर्सका कप्तान मोइजेस हेनरिक्स एक्लैले ७३ रन जोडे। ३९ रनमा ५ विकेट गुमाएको सिक्सर्सलाई हेनरिक्स एक्लैले सम्हालेका थिए। सन्दीपले चार ओभरमा २४ रन खर्चिएर एक विकेट लिए।









