भिरकोटमा दोस्रो वडा कप भलिबल प्रतियोगिता सम्पन्न: आधिखोला पिस युथ क्लब च्याम्पियन बन्दै उपाधि उचाल्यो, १४ टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा
स्याङ्जा – स्याङ्जाको भिरकोटमा लुब्दीखोला युवा परिवारको आयोजनामा सम्पन्न दोस्रो वडा कप भलिबल प्रतियोगितामा आधिखोला पिस युथ क्लब उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। कडा प्रतिस्पर्धाबीच सम्पन्न प्रतियोगितामा लुब्दीखोला युवा क्लब दोस्रो स्थानमा रह्यो भने पतला देवी युवा क्लब तेस्रो स्थान हासिल गर्न सफल भयो। प्रतियोगितामा विभिन्न वडाबाट १४ टोलीको सहभागिता रहेको थियो, जसले खेललाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाएको थियो।क्लबका अध्यक्ष कमल थापाको अध्यक्षता तथा अमृत थापाको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्ल रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकाससँगै खेलाडीलाई आत्मनिर्भर बनाउन राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो। उहाँले ग्रामीण स्तरमा यस्ता प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न ठूलो भूमिका खेल्ने धारणा पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा भिरकोट नगरपालिकाका संस्थापक नगर प्रमुख छायाराम खनाल, नेपाली कांग्रेस भिरकोटका सभापति लक्ष्मण अधिकारी, नेविसंघ केन्द्रीय सदस्य सुनिलबाबु चापागाईं लगायतका वक्ताहरूले युवालाई सकारात्मक दिशातर्फ अघि बढाउन खेलकुदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो । उहाहरूले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउन्नु भएको थियो ।आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै युवाबीच आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुर्याएको छ। प्रतियोगिताको सफल आयोजनाले आगामी दिनमा अझ ठूला खेलकुद कार्यक्रम गर्ने उत्साह थपिएको आयोजकले जनाएको छ।












