चितवन । भरतपुर महानगर—१६ मा गैंडा मृत फेला परेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो ।सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर परपर्ने विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा मृत फेला परेको हो ।‘प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिदैछ’, उनले भने, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्ट पछिमात्रै थाहा हुन्छ ।’
उनले गैंडाको सिंग र खुर सबै अंगहरु सुरक्षित रहेको बताए । मृत गैंडाको शरिरमा कुनै चोट पनि देखिएको छैन । गैंडाको सिंग र खुरहरु डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।विहान ८ बजे फेला परेको गैंडा भएको क्षेत्रमा डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी०का प्राविधिक टोली खटिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यो आर्थिक वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १५ गैंडा मृत फेला परेका थिए ।एकआपसमा जुधेर, हिलोमा भासिएर गैंडाहरु मर्ने गर्छन् ।











