नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा मुलुकभर उल्लासका साथ मनाइयो

प्रकाशित मिति:

सैनामैना । नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा आईतवार मुलुकभर उल्लासका साथ मनाईएको छ । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा बस्ने नेवार समुदायले योमरी पुन्हिः मनाउँछन् ।यसैवीच नेवा पुचः पर्रोहाले समेत यःमरी पुन्हीको अवसरमा आईतवार एक कार्यक्रम गरी यो मरी पुन्ही मनाएको छ ।

नेवार समुदायको ठूलो पर्वका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।यो पर्वलाई नेवार समुदायले नव अन्नप्राशनका रुपमा मनाउने गरेको संस्कृतिविदहरु बताउँछन ।सैनामैनामा आयोजना गरिएको कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै नेवा पुचः सैनामैनाका उपाध्यक्ष बाबुराम श्रेष्ठले नेवार समुदायले मंसिरको शुक्ल पूर्णिमाका दिन योमरी पन्ही मनाउने गरिएको बताउँदै यो पर्व कृषिसंग पनि अन्तर सम्वन्धित रहेको बताउनु भयो ।
योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । यो मरी नेवार समुदायले परम्परादेखि नै मनाउदै आएको र परम्परालाई निरन्तरता दिदै नेवा पुचः पर्रोहाले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ ।साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ । सैनामैनामा नेवार समुदायले भेला भएर यो पर्व मनाउँदै आएको आयोजकहरु बताउँछन ।नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले राष्ट्रिय दिवसको मान्यता समेत दिएको छ । लोक संस्कृति संरक्षण गर्ने तथा नेपाली परम्पराको रुपमा रहेको नेवार समुदायको मौलिक संस्कृति यो पर्वको प्रवद्र्धन गर्न सैनामैना नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यो मरी पुन्हीलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । सरकारले यः मरी पुन्हीको अवसरमा आईतवार सार्वजनिक बिदा दिएको थियो ।