काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको हो ।महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो ।
“विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्य स्थापना कालदेखि नै यो संस्थाले गर्दै आएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “फौजदारी कानून, नागरिक अधिकार र कानूनी शासनको कार्यान्वयनका लागि व्यवसायिकरुपमा यो संस्थाले काम गर्दै आएको छ ।” प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि संविधान र कानूनको क्षमताले भ्याएसम्म विशिष्टिकृत तरिकाले आफ्नो काम पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको समस्याले जनताले न्याय पाउने अधिकारबाटै वञ्चित हुनुपर्ने अवस्था आएको र यस्तो समय लामो सयम रहन नहुने भएकोले प्रतिपक्षीसँग छलफल गरी संसदीय प्रक्रियाबाट भएपनि निकास दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायापालिकाको रक्षाका लागि सरकारी वकिलको क्षमता वृद्धिका साथै दरबन्दीसमेत थप्नुपर्ने जरुरी रहेको र त्यसका लागि सरकारले सहयोगसमेत गर्न उहाँको आग्रह थियो ।











