मोरङ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् ।शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट निष्कासन गरेका मान्छेहरूुलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।
कुराकानीको क्रममा अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताए । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उनले भने, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो । ‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि १’ अध्यक्ष ओलीले भने ।
गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।जसपाबाट निर्वाचित जहदा गाउँपालिका ७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुगेका हुन् । ओलीले एमालेको १०औं महाधिवेशनपछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने बताएका थिए । यसअघि जनता समाजवादीको तर्फबाट वडा नं ४ का अध्यक्ष जयनरथ गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।











