माओवादीलाई महाधिवेशनको प्रचार सामग्री फेर्न भ्याइनभ्याई

प्रकाशित मिति:

११ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुर हुँदै छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा अपराह्न तीन बजे महाधिवेशन उदघाटन समारोह हुँदै छ ।

माओवादीले आज पहिलो राष्ट्रिय सम्मेलनको उदघाटन गर्ने गरी सम्पूर्ण तयारी सकेको थियो । उदघाटन समारोहस्थल, सडक किनार, आकाशे पुल जताततै राष्ट्रिय सम्मेलनका ब्यानर र फ्लेक्स बोर्ड टाँगिएको थियो । तर, शनिबार साँझ एक्कासी राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय माओवादीले गर्यो । त्यसपछि राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न माओवादी कार्यकर्ताहरूलाई भ्याईनभ्याई भएको छ ।

व्यवस्थापनमा खटिएका एक नेताले अनलाइनखबरसँग भने, ‘रातभर खटिएर केही स्थानका प्रचार सामग्री फेर्यौं, केही फेर्ने क्रम जारी छ ।’प्रज्ञा भवन परिसरमा ‘आठौं राष्ट्रिय महाधिवेशन’ लेखिएको ब्यानर राखिसकिएको छ । तर कतिपय आकाशे पुलहरूमा अझै पनि राष्ट्रिय सम्मेलन लेखिएको ब्यानर हटाउन बाँकी नै छ ।महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनको कार्ड वितरण गरिसकिएको थियो । त्यसलाई पनि परिवर्तन गरिएको छ ।महाधिवेशनस्थल काठमाडौंका विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिएको छ । सडक किनारमा हँसिया अथौडा अंकित झण्डा राखिएको छ ।महाधिवेशनको तयारी नपुगेपछि दिउँसो एक बजे गर्ने भनिएको उदघाटन समारोह पनि तीन बजेसम्मका लागि सारिएको छ ।