गृहमन्त्रीले गरे राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको निरीक्षण

प्रकाशित मिति:

९ माघ, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको निरीक्षण गरेका छन्।हिमपात, शीत लहर, अत्यधिक चिसोलगायत विपद्को जोखिम बढेपछि न्यूनिकरणका लागि आवश्यक पर्ने पूर्वतयारीबारे जानकारी लिनका लागि गृहमन्त्री खाणले केन्द्रको अवलोकन गरेका हुन् ।सिंहदरबारमा रहेको केन्द्रले प्राकृतिक विपद्को न्यूनिकरणका लागि योजना बनाउने र विपद्बाट क्षति हुन नदिन कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउँछ ।निरीक्षणका क्रममा मन्त्री खाणले केन्द्रले अहिले हिमपात, शीतलहरबाट हुन सक्ने जोखिम एवं सम्भावित जनधनको क्षति न्यूनिकरणका लागि पूर्वतयारी एवं प्रतिकार्यका लागि गरेको प्रयासबारे जानकारी लिएका थिए ।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीप कोइरालाले अहिलेसम्म गरेको पूर्वतयारी र प्रतिकार्यका लागि गरेको प्रयासबारे मन्त्री खाणलाई जानकारी गराएका थिए । केन्द्र महाशाखा अन्तर्गत पर्छ।गत मंसिर २९ गते गृहमन्त्रीस्तरीय निर्णयबाट आपतकालिन बन्दोबस्तीका सामाग्री खरिद गर्न ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मनाङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुलु, डोल्पा, कालिकोट, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले पठाउने निर्णय भएको थियो । त्यो निर्णय कार्यान्वयनका लागि जिल्ला जिल्लामा पठाइसकिएको कोइरालाले मन्त्री खाणलाई जानकारी गराए ।

त्यस्तै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई १२ लाख रुपैँया तथा नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीलाई ८ लाखका दरले विपद व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी खर्च गर्न जिल्ला प्रशासन कायर्षलयमा पठाइ सकिएको जानकारी मन्त्री खाणलाई गराए ।मन्त्री खाणले मुलुकभर भएका विपद्का घटनाबारे तत्काल केन्द्रसम्म कसरी जानकारी आइपुग्छ र केन्द्रबाट तत्कालको लागि राहतका सामाग्री पठाइन्छ भनेर जिज्ञासा राखेका थिए ।मौसमको पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाबाट सिधै आउने र अन्य विपद्का घटना जिल्ला प्रशासन कार्यालयमार्फत सिधै केन्द्रमा आउने जानकारी केन्द्रका कर्मचारीहरूले मन्त्रीलाई गराएका थिए ।