राष्ट्रियसभा सदस्यमा अधिकांश स्थानमा पाँच दलीय गठबन्धनका उम्मेदवार निर्वाचित,कुन प्रदेशमा को विजयी ?

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा अधिकांश सिटमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।अहिलेसम्म मत गणना सम्पन्न भएका मधेश प्रदेश वाहेकका सबै प्रदेशमा अधिकांश सिटमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा भने एकसिट नेकपा एमालेले जितेको छ । जनता समाजवादीका हेमराज राईलाई पराजित गर्दै एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित हुनु भएको हो । प्रदेश एकमै अन्य तर्फको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालले बराबरी मत ल्याए पनि गोलाप्रथाबाट काँग्रेसका बस्नेत निर्वाचित हुनुभएको छ । प्रदेश १ बाट महिलातर्फ सत्तापक्षीय जयन्ती राई विजयी हनु भएको छ ।

यता, यता बागमती प्रदेशमा पनि सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी हुनुभएको छ । बागमती प्रदेशमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना महिला समूहबाट र नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल अन्य समूहबाट विजयी हुनुभएको हो ।उता गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनतर्फबाट महिला कोटाबाट कांग्रेसका कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार विजयी हुनुभएको हो । एमालेका लिला थनेत, पुण्य पौडेल र अर्जुनकुमार सुनामलाई पराजित गर्दै गठबन्धन उम्मेदवार विजयी हुनुभएको हो ।उता, राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पनि पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक विजयी हुनुभएको हो ।

त्यसैगरि कर्णाली प्रदेशबाट सत्तारुढ पाँच दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी परेको थियो । बुधवार भएको मतदानमा महिला तर्फ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ विजयी हुनुभएको छ । उहाँले एमालेका गंगा थापालाई पराजित गर्नुभएको हो । यस्तै अपाङ्गता वा अल्पसंख्यक तर्फबाट गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी हुनुभएको छ । एमालेका पदमबहादुर माझीलाई पराजित गर्दै विष्ट विजयी हुनुभएको हो । यसैगरी, अन्य समूह तर्फको एक सिटमा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा विजयी हुनुभएको छ । बोहराले एमालेका चुडामणि शर्मालाई पराजित गर्नुभएको हो ।सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेसका नारायण मिश्र विजयी हुनुभएको हो । मधेस प्रदेशमा भने मत गणना अझै जारी छ ।