दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग, नबढाइए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी

प्रकाशित मिति:

केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।विगत तीन वर्ष देखि दूधको मूल्य एउटै रहेको तर बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ । यसले किसानहरू पैसाबाटै पलायन हुने अवस्था आएको संघले बताएको छ ।

‘दूधको मूल्य वृद्धि नहुँदा किसानहरू मर्कामा पर्ने मात्र नभई आत्मनिर्भर हुने अवस्थाबाट समेत विमुख भई दूधको आयात बढ्ने देखिन्छ’ संघका महासचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अब पनि मूल्य वृद्धि नभए चरणवद्ध आन्दोलनमा उत्रिने सोही विज्ञप्ति मार्फत संघले चेतावनी दिएको छ ।हाल संघमा आवद्ध एक हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाहरु गरी कुल ५ लाख कृषक आबद्ध छन् ।