गठबन्धनले स्थानीय तह निर्वाचनबारे अघि सारेका विकल्पहरु संविधानसम्मत छैनन्ः गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत नभएको बताएका हुन् ।कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत नहुने भन्दै उनले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवालाई आफुहरुले सो कुरा राखिसकेको उनले उल्लेख गरे । गठबन्धनले संविधानसँग बाझिने गरी कुनैपनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको सभापतिजीलाई मैले आजको छलफलमा पनि भनिसकेको छु । र यो भन्दा अगाडी पनि भनिसकेको छु । र गठबन्धनको नेताहरुसँग मेरो प्रत्यक्ष रुपमा भेटघाट नभएको हुनाले गर्दा म यो माध्यमबाट पनि उहाँहरुलाई के भन्न चाहान्छु भने स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ, र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ति कुनैपनि विषयहरु संविधानसम्मत छैन । हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौ भनेर जुन कुरा आइरहेको छ, ग¥यौँ भने यो संविधानसम्म्त हुँदैन । यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण छैन । बोक्नु हुँदैन भन्नेकुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । र गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझीने गरीकन कुनैपनि काम गठबन्धनले गर्दैन भन्नेकुराको मलाई विश्वास छ ।’
सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफुले अपेक्षा गरेको उहनको भनाइ छ ।











