पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने

प्रकाशित मिति:

पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने भएको छ।शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने निर्णय गरेको हो।विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए।

विश्वविद्यालयमा फिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको छ। त्यसका लागि हाल भौतिक संरचना निमार्णको काम भइरहेको उल्लेख गरिएको छ।यसअघि बसेको विश्वविद्यालय सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमासमेत निर्णय गरिसकेको थियो।छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे।

भौतिकपूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक पाठ्यक्रम तयार गर्न उनको सुझाव छ।विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ।‘सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्। आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु।’