नेपाल शिक्षक सङ्घ रुपन्देहीको बैठक सम्पन्न: शिक्षा नियमावलीको १०औँ संशोधन शिक्षकमैत्री नभएको निष्कर्ष
रुपन्देही। नेपाल शिक्षक सङ्घ रुपन्देहीको बैठक विभिन्न महत्त्वपूर्ण साङ्गठनिक एवं शैक्षिक मुद्दाहरूमा छलफल गर्दै सम्पन्न भएको छ । सङ्घका जिल्ला अध्यक्ष रुपकुमार रायमाझीको अध्यक्षता र सचिव धन बहादुर रानाको सञ्चालनमा सम्पन्न बैठकमा शिक्षा क्षेत्रका समसामयिक विषय र नीतिगत व्यवस्थाहरूमाथि घनीभूत छलफल भएको थियो ।
बैठकमा शिक्षा नियमावलीको दशौँ संशोधनका विषयमा केन्द्रित रहेर सङ्घका जिल्ला उपाध्यक्ष टिकाराम शर्मा पौडेलले विस्तृत विश्लेषण प्रस्तुत गर्नुभएको थियो । विश्लेषणका क्रममा उहाँले नयाँ नियमावलीका कतिपय प्रावधानहरू व्यावहारिक र शिक्षकमैत्री हुन नसकेको टिप्पणी गर्नुभयो । विशेषगरी शिक्षक सरुवा प्रक्रिया र प्रधानाध्यापक (प्र.अ.) छनोटको विधि निकै जटिल बनाइएको भन्दै बैठकमा सहभागी अन्य वक्ताहरूले पनि यसबारे चिन्ता र गुनासो व्यक्त गर्नुभएको थियो । यद्यपि, संशोधित नियमावलीले प्रधानाध्यापकको भत्ता वृद्धि गर्ने गरेको प्रावधानलाई भने बैठकले सकारात्मक कदमको रूपमा स्वागत गरेको छ ।
सम्मान तथा बधाई ज्ञापन
सोही अवसरमा सङ्घका सेवानिवृत्त केन्द्रीय सदस्य कुलप्रसाद लामिछानेलाई हार्दिक बिदाइ तथा सम्मान गरिएको थियो । शिक्षा क्षेत्र र सङ्गठनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई सम्मानसहित बिदाइ गरियो ।
यसैगरी, शान्ति नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नवनियुक्त लोकनाथ कंडेल र गीर्वाण सरस्वती साधारण तथा संस्कृत माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त हुनुभएका डिल्लीराज भण्डारीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरियो ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घका निवर्तमान केन्द्रीय सदस्य कुलप्रसाद लामिछाने, संघीय प्रतिनिधि रबिन्द्र यादव, नेपाल शिक्षक महासंघका अध्यक्ष लीलाधर न्यौपाने, सङ्घका लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा यादव लगायतले मन्तव्य राख्नु भएको थियो । वक्ताहरूले समसामयिक शैक्षिक मुद्दा, शिक्षकका पेसागत हकहित र सङ्गठन सुदृढीकरणका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।









