काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ ।
माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले किसानका लागि दूधको मूल्य वृद्धि गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन मन्त्रालयमा प्रस्ताव गरेको हो ।
यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने पस्ताव मन्त्रालयमा गरेको जानकारी दिनुभयो । डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो ।
हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ रहेको छ, त्यसमा १० रुपियाँ वृद्धि गरेपछि ८६ रुपियाँ हुने डीडीसीले जनाएको छ ।











