सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिष्पर्धा गर्न तयारः विश्वकर्मा

प्रकाशित मिति:

तिलोत्तमा, २४ माघ – नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार रहेको बताएका छन् ।एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए ।एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै सचिव विश्वकर्माले यस्तो बताएका हुन् । “एमाले कुनै शक्तिसँग झुक्दैन, आगामी निर्वाचनमा जुनसुकै गठबन्धन गरेर आएपनि एमाले एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार छ”–उनले भने । विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । “सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन”–विश्वकर्माले भने ।

उनले एमसिसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसिसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसिसी विरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी छ ।कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि गिरीले बताए ।अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।

त्यस अवसरमा न्यू सिजना युवा क्लवका अध्यक्ष लप्सन गुरुङसहित करिव एकसय जना युवालाई एमाले सचिव विश्वकर्मासहितका नेताहरुले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।
एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल, नवप्रवेशी लप्सन गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।