राजनैतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा ल्याउदा देखिन आउने चरित्र हो । व्यवहार हो । लोकतन्त्र राजनीतिक शब्दावली मात्रै होइन यो एउटा संस्कार, संस्कृति र नैतिकताको पक्ष हो । राजनैतिक संस्कार भित्र एकआपसको आदरभाव, सम्मान, मूल्यमान्यता, सहमति, सहकार्य, एकता सह–अस्तित्व हुनुपर्दछ । कम्तिमा पनि राजनैतिक संंस्कार व्यक्त गर्न हामी कति प्रजातान्त्रिक छौ ? कति सत्यलाई स्विकार गर्न सक्छौं ? अरुको विचारमा सहमत हुन सकौला या नसकौला तर कति अरुको विचारलाई सम्मान गर्न सक्छौं ? अरुको अस्तित्वलाई स्विकारेर हातेमालो गर्न सक्छौं की सक्दैनौ? हामी कति उदार छौं ? मूल्यांकन गर्न सक्नुपर्दछ । किनकी असल राजनैतिक संस्कारले आपसमा सद्भाव, सम्मान, सहकार्य, सह–अस्तित्व खोज्दछ ।
राजनैतिक संस्कार एक पछि अर्को पुस्तामा हस्तान्तरण हुने हुनाले जे देख्यो त्यै सिक्यो हुने स्थिति अवश्य रहन्छ । यसैले धरालतबाट उठेर गएकाहरु उक्त धरातलप्रति नै अन्यायी बन्नु हुंदैन । पद भनेको अभिमान र अहमताको लागि होइन । पद सधैका लागि पनि होइन । पदमा रहेका व्यक्तिहरु नमुना (मोडल) हुन यसैले तिनीहरु झन् बढी विनयशील, सरल र सहृदयी हुुनुपर्छ । पदमा आसिन व्यक्तिहरु स्वयम अनुशासन र कर्तव्यको घेरामा अझ उदाहरणीय बन्न सक्नुपर्दछ । निस्वार्थ व्यक्ति र शिक्षित व्यक्ति त्यस्ताको अगाडि शिर झुकाउदछन् जसको उच्चतम नैतिक चरित्र हुन्छ । बलले झुकाएको शिर सदा सर्वदाको लागि झुक्दैन । यसैले नेताले कार्यकर्तालाइ सधै सही राजनैतिक संस्कार दिनुपर्दछ ।
अब त झन् आइटिको जमाना आयो । हरेक कार्यकर्ता तथा मतदाताले आफ्ना नेताहरुको क्रियाकलाप व्यवहार, ऐजेण्डा, चरित्र तथा हरेक गतिविधि मोबाइलबाटै हेरेर मूल्यांकन गरिरहेका हुन्छन । घरमै बसेर नेताको चरित्र, लोकतन्त्र वा पार्टीको सिद्धान्त प्रतिको निष्ठा उसको सामाजिक चरित्र, उसले आर्जित गरेको आर्थिक हैसियतको आधार राजनैतिक पृष्ठभूमी समाज र देशको लागि गरेको योगदान आदि हेरेर बसेका हुन्छन । अब त कुनै कुरा लुकाएर लुक्नेवाला छैन । कार्यकर्ताले नेतालाइ मान्नु पर्ने कारण नेताको इमान्दारीताले हो, नेता इमान्दार छैन,मान्नु पर्ने कारण छैन । यसैले उच्चतम नैतिक चरित्र विहिन व्यक्ति नेता या अगुवा बन्न सक्ने स्थिति नै छैन । राजनीतिको प्रथम शर्त नै उच्चतम नैतिक चरित्र बनेको छ ।नेताले हारजीत जे भएपनि सधै आफू केन्द्रबिन्दुमा हुनु पर्छ भन्ने चाहना राख्दछन् जुन तानाशाही प्रवृत्ति हो । संकिर्ण राजनितिक संस्कार भएका नेताहरुमा शिष्टाचार, आचार र कतब्र्यमा बाधेर राख्ने प्रेरणा उनिहरुको आफ्नै अन्तर आत्माबाट आउदैन, आफु भन्दा बाहिरको जनशक्ति र स्वतन्त्र कार्यकर्ताले मात्र उनिहरुलाइ बाधेर राख्दछ। त्यो शक्ति कमजोर पर्यो भने नेताको मर्यादाहिनताको कुनै अत्य हुने छैन । संकिर्ण राजनैतिक संस्कारमा कार्यकर्ताले नेतृत्वले भनेको कुरा र व्यवहार अनुसरण गर्नुपर्दछ। कार्यकर्ता आफै निर्णायक हुंदैनन् । त्यस्तो राजनैतिक अभ्यासबाट लोकतन्त्रको सिद्धान्त आचरण र व्यवहार उल्टो बनाउने कोसिस हुन्छ ।एउटा राजनैतिक संस्थालाइ त्यसको शिद्वान्त, त्यसका सदस्यहरुको आचरण कार्यक्षमता, त्यसले जनताबाट प्राप्त गर्न सकेको विश्वास र त्यसका नेताहरुको क्षमता र इमान्दारीताले जीवन्त बनाउछ । यसैले उच्चतम राजनैतिक संस्कारमा नेताहरुले विचार लादिरहने हैन, जनता तथा कार्यकर्ताको मनोभावना बुझ्ने र जन चाहना थाहा पाउने हो । लोकतन्त्रमा जनता नै सम्प्रभू सम्पन्न हुन् । तिनीहरुको अगाडि राजशी ठा“ट देखाएमा जनता भित्रभित्रै दुःखी हुन्छन् । फलस्वरुप नेताको राजशी शान र जनताको भावना बिचमा दुरीको श्रृजना हुन्छ । यो दुरिको छाया“ भावी अधिवेशन या निर्वाचनमा देखा पर्दछ । यस्तै कार्यकर्ताहरु पार्टीमा आस्था र निष्ठाका साथ लागेका हुन्छन् । समाज सेवा गरेका हुन्छन् जो कसैले केही खाएका पाएका हुदैनन् । यसैले ममता पुर्ण व्यवहार गर्नुपर्दछ । भाइचारा र साथीत्वको व्यवहार गरिनुपर्छ । यसैले होला समानतामा आधारित साथित्वको भावको लागी जय नेपाल भन्ने गरेको ।
लोकतन्त्रको अर्को मधुर तथा सुन्दर पक्ष भनेको, लोकतन्त्रको अभ्यास आफ्नै आन्तरिक पार्टीभित्र गएर सिक्नु हो । अधिवेशनको माध्यमबाट निर्वाचनमा गएर जनता र कार्यकर्ताको लागि नेता छान्ने प्रकृया लोक लोकतान्त्रिक प्रकृया हो । नेताका लागि नेताकै प्रिय मनोनित गर्नु तानाशाही प्रवृत्ति हो । हजारौं सदस्य साथीहरुको घर आगनमा पुगेर निर्वाचनमा मत माग्दै हिड्नु भन्दा एक आध नेताको चाप्लुसी गरेर टिको लगाउनमा इच्छा गर्ने अवसरवादीहरुको संख्या आजकाल बढ्दो छ । जसले नेताको राजशी ठा“टलाई अझ बढाएको छ । गुटगत राजनीतिलाई प्रसय मिलेको छ । सामाजिक जीवन र चरित्र कमजोर र जनआस्था नभएको व्यक्ति पनि गुटको साहारामा विजयी हुने हु“दा पार्टीकै ओझ घटेको छ । समाजमा नरुचाइएको व्यक्ति जसको जनआधार छैन ऊ नेताको टिको लगाएर आउछ भने पार्टीको ओझ मात्र होइन, कार्यकर्ताको उर्जावान, मनोबल पनि घटाएको हुन्छ । त्यै टिके बन्ने दाउमा कोही ठूला ठूला रकमको सहयोग गरिरहेका छन् । कोही ठूला ठूला षडयन्त्र गरिरहेका छन् । क्षणिक समयको लागि जति ठूलो षडयन्त्र त्यति ठूलो राजनीतिज्ञ जस्तो देखिएला तर यसले आफ्नै वरपरका मित्रगणसंगको दुरी बढाएको हुन्छ । त्यस्ता व्यक्तिहरुप्रतिको सामाजिक विश्वास पनि हराइरहेको हुन्छ । यसरी धन, चाप्लुसी र षडयन्त्रको आडमा लिइने पद पनि शोषण नै हो । छिटो प्रगति गर्छु भन्ने लोभमा यो मनोनित हुने दाउ त यूवामा पो बढि रहेको देखिन्छ । यो मनोनित (टिके) बन्ने दाउले युवाहरुको दिमागलाई खोज र अनुसन्धान मूलक काममा भन्दा द्वन्द र खुराफातमा बढि लगाएको देखिन्छ । सायद यसैको उपज होला नेताको आ“खामा पर्नको लागि हुने अधिवेशनको लडाई, झगडा आदि । जसबाट हनुमानगीरी र झोलेवादको बिकाश हुन्छ । यथार्तमा यस्तो क्रियाकलाप समग्र लोकत्रान्त्रिक बिधि र ब्यक्तित्वको लागि अपमान र पार्टीको लागि नोक्सान हो ।
अर्कोतर्फ अहिले युवा–युवा भन्ने जनआवाज उठेको छ । व्यक्ति उमेरले यूवा होइन, विचार र परिपक्वताले युवा हुनु पनि जरुरी छ । संगठानिक क्षमता, भिजन र प्रतिस्पर्धामा उत्रन सक्ने क्षमता पनि हुनुपर्छ । युवा भएकै भरमा नेतृत्वमा दावी गर्न का“हा मिल्छ र ? आफूभन्दा अग्रज नेतालाई गाली गरेको भरमा वाःवा गरेर नेतृत्व प्राप्त अवश्य हु“दैन । सुख दुख, मर्यादा अमर्यादा खपेर नै दृण चरित्रको निर्माण हुन्छ । जोगाएर राखेको या अर्काले बनाइदिएको ब्यक्तित्व दरो हुदैन, अग्रज नेतालाई गाली गरेर पपुलर हुने प्रवृत्ति सही होइन, युवाले विचार, दृष्टिकोण, संगठानिक क्षमताले प्रशिद्धि कमाउनु पर्छ ।यसरी असल राजनीतिज्ञले जनजनबाट आएका विभिन्न विचार सुन्नाले राजनैतिक नेतालाई जन अपेक्षा अुनरुप कार्य गर्न सहज हुन्छ । जन–अपेक्षा अनुरुपको कार्य गर्ने नेता मात्र जनताको नेता बन्न सक्छ । जसले असहज परिस्थितिलाई पनि सहज बनाएर शासन गर्न सक्छ । प्रतिकूल परिस्थितिमा पनि अनुकूल बनाएर शासन गर्न सक्नु नै कुसल शासक हो । असहजता र प्रतिकूलता हिजोका शासकलाई पनि थियो र भोलिका लागि पनि अवश्य रहन्छ ।











