कमल थापाले पार्टी छाडेपछि राप्रपाको आकस्मिक बैठक : निर्णयमा पुनर्विचार गर्न आग्रह

प्रकाशित मिति:

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ।बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापाको निर्णयलाई ‘अनपेक्षित तथा अप्रत्यासित’ ठहर गरिएको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’

राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सवै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन पनि आग्रह गरिएको छ ।आजै हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा थापाले भनेका थिए, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका थापाले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गर्दै आएका छन् ।