भैरहवा, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लिला गिरीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई हार्ने छुट नभएको बताएका छन् । उनले एमालेले निर्वाचन जिते मात्र मुलुक र जनताको पक्षमा काम हुन सक्ने दावी गरे । एमाले सिद्धार्थनगर नगर कमिटीको भैरहवामा भएको पाँचौ बैठकमा बोल्दै नेता गिरीले विगतमा व्यक्तिले नभइ पार्टीले जित्नुपर्छ भनेर लागेकाले निर्वाचनमा जित भएको बताए । उनले भने, ‘उम्मेदवार हुने आकांक्षा, इच्छा राख्नु स्वभाविक हो, तर व्यक्ति नभइ पार्टीले जित्नुपर्छ ।
लुम्बिनी प्रदेश सरकारका पूर्व पर्यटन मन्त्री समेत रहेका नेता गिरीले मुलुकको आवश्यकता राजनीतिक स्थिरता भएको बताए । उनले एमालेले सम्पूर्ण निर्वाचन जित्नुपर्नेमा जोड दिए । त्यस्तै एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज भुमिश्वर ढकालले एमालेलाई निर्वाचन हार्ने अनुमति नभएको बताए । उनले भने, ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले जनतामा जाने निर्णय गर्नुभएको थियो, त्यो निर्णय सत्य सावित हुँदै गएको छ । उनले स्थानीय तहको निर्वाचनको परिणामले अर्को निर्वाचनको परिणाम तय गर्ने बताए । नेता ढकालले विगतमा पनि सिद्धार्थनगरमा एमालेले एक्लै निर्वाचनमा जितेकाले पुनः एक्लै जित्ने बताए ।
पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले एमालेले संगठन र कार्यकर्ताको बलमा निर्वाचन जित्ने बताए । उनले जनताको भावना अनुसार काम गर्ने जनप्रतिनिधि आवश्यक रहेको बताए । एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले परमादेशबाट सरकार बनेपछि मुुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको बताए । बैठकले एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको संयोजकत्वमा १ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रा.डा. कपिलदेव लामिछानेको संयोजकत्वमा प्रतिवद्धता मस्यौदा तयारी समिति गठन गर्ने निणय गरेको एमाले सिद्धार्थनगरले जनाएको छ । एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।












