स्थायी समितिमा सरकारको आलोचना भएको छैन : मन्त्री गुरुङ

प्रकाशित मिति:

काठमाडौं। गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे। उनले भने,‘बैठकमा कोही पनि नेताहरुले सरकार असफल भयो भनेर बोल्नुभएको छैन्। तर, सरकार र पार्टी दुवैको कामबारे नेताहरुले सुझाव दिनुभएको छ। सरकारका काममा सुधार गर्नको लागि जोड दिनुभएको छ। क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए। उनले भने,‘सरकार असफल भयो भने पार्टी पनि असफल हुन्छ। त्यसैले सरकारले अब आफ्ना कार्यशैली सुधार गरोस भनेर नेताहरुले बैठकमा धारणा राख्नुभएको छ।’

बैठकभित्र नेताहरुले एउटा कुरा बोलेको तर बाहिर मिडियामा आउँदा अर्कै भएर आउने गरेकोमा भने उनले गुनासो पोखे। उनले भने,‘बैठकमा हाम्रा नेताहरुले यसो भन्नुभयो भनेर जे जति कुरा आएका छन्, त्यसमा कुनै सत्यता छैन। बाहिर त पार्टी नै फुट्न लाग्यो भनेर कुरा आयो। तर, बैठकभित्र त्यस्तो कुरा भएको छैन। उनले नेता वामदेव गौतमले बैठकमा सुझाव र आफ्नो विचारको रुपमा कुराहरु राखेको स्पष्ट पारे । उनले भने,‘उहाँको सुझावमात्रै हो । तर, बाहिर फरक मत भनेर आयो । उहाँको पेश गरेको कुरा सुझाव हो, तर फरक मत होईन् ।’ आफूहरुले बैठकमा लागेका कुराहरु निर्धक्क राख्ने गरेको सुनाउँदै उनले नेताहरुले कुनै आग्रह वा पूर्वाग्रह नपालेको पनि जिकिर गरे । आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा नेताहरुले जोड दिएको पनि उनले सुनाए। स्थायी कमिटि बैठक यसअघि समयमै नबसेकोले विरोधका स्वरुहरु सुनिएको तर सरकारले बेठिक नै गर्यो भनेर कोही पनि नेताले टिप्पणी नगरेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘बरु बोल्ने नेताहरुले सरकार र पार्टीका कमिकमजोरीहरु सुधार गर्नुपर्छ भनेर बोल्नुभएको छ ।’