सरकार छाड्ने राप्रपाको निर्णय

प्रकाशित मिति:

काठमाडौं, माघ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए ।

बैठकले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारमा राप्रपाका उप्रधानमन्त्रीसहित ४ मन्त्री छन्।केहीबेरमै राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने बताइएको छ।लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् भने ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए। सत्ताको नेतृत्व गरिरहेका माओवादीले शुक्रबार साँझ राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा एस, जसपालगात ८ दलसँग गठबन्धन गरेपछि वर्तमान सत्ता गठबन्धन भत्किएको थियो। सोही कारण राप्रपाले सरकार छाड्ने निर्णय गरेको हो।