तिलोत्तमाको सिक्सलेन सडकमा निकालियो मानव साङ्लो- सरसफाई अभियानमा सबैको प्रतिबद्धता

प्रकाशित मिति:

तिलोत्तमा, फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक—आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ । अभियान १०० औं श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यसक्रममा नगर प्रमुख खाणले सरसफाईलाई तिलोत्तमाबासीको संस्कार र संस्कृतिसँग जोडेर दीगो बनाउने अभियानमा नगरपालिका रहेको बताउनुभयो । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइसराईको दर समेत तीव्र रुपमा बढेको नगर प्रमुख खाणले बताउनुभयो । उहाँले बुधबार आयोजना गरिएको मुख्य कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आह्वान समेत गर्नुभयो ।
उपप्रमुख चौधरीले तिलोत्तमाबासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा आफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रेय नगरबासीमा जाने बताउनुभयो । उहाँले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास गर्न सबै नगरबासीलाई अनुरोध गर्नुभयो ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ । एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् । बुधबार मुख्य समारोह आयोजना गरिएको छ ।