दाङ, चैत । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले एक कार्यक्रमको आयोजना गरी सेवा निबृत्त शिक्षक तथा कक्षा १० का विद्यार्थीहरुको बिदाई गरेको छ । लामो समयसम्म विद्यालयम अध्यापन गरी सेवा निबृत्त हुनु भएका शिक्षकहरु निमा डि.सी., कालिका अधिकारी र शिवकुमार श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र टिका लगाएर विदाई गरिएको हो । साथै आसन्न एसईई परीक्षा—२०७९ दिएर विद्यालयबाट जादै गरेका १० कक्षाका विद्यार्थीहरुलाई पनि बिदाई गरिएको थियो ।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्व एंव घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यता भएको कार्यक्रम भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले सेवा निबृत्त शिक्षकहरुबाट समाजले धेरै अपेक्षा गरेको भन्दै समाजको चौतर्फी बिकासमा भूमिका खेल्न आग्रह गर्नु भएको थियो । साथै उहाँले विद्यार्थी शिक्षासँर्गै समाजका हरेक क्षेत्रमा उदाहरणीय काम गर्न शुभकामना दिनु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक दिपक कुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विदाई भएर जादै गरेका विद्यार्थीहरुको तर्फबाट बिपना नेपाली लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरु बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्लस टु कोर्डिनेटर हेमराज शर्माले गर्नु भएको थियो ।












