हरिश ढकाल- बुटवल चैत्र । भारतको सैनिक बिभागको एक महत्वपुर्ण अंग मानिने आसाम राईफल््समा भर्ति भै सेवानिबृत्त पेन्सनर भएका पुर्व सैनिकहरुको सम्मेलन तथा राईजिङ्ग डे बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागि पुर्व सैनिकहरुले उर्जाशिल जिवनका महत्वपुर्ण बर्षहरु आसाम रेजिमेन्टमा समर्पित गरेका पुर्व सैनिकहरुलाई भारत सरकारले पक्षपाती ब्यबहार गरेको भन्दै गुनासो गरेका छन ।
जिवनको महत्वपुर्ण उमेर किशोर अवस्थादेखि युवाहुँदै बयस्क र कतिपय अवस्थामा बृद्धसम्म भारतको आसाम राईफल्स्मा कार्यरत भै सेवा निबृत्त भएपनि भारत सरकारले गोरखा राईफल्स् तथा अन्य सैनिक सरह सेवा सुबिधा उपलब्ध नगराएको भन्दै गुनासो गरेका हुन् ।
आसाम रेजिमेन्टमा भर्ना भै अन्य भारतिय सैनिक सरहनै कार्यगरेको हुनाले समान निबृत्तिभरण पेन्सन पाउनु पर्ने माग उनिहरुले गरेका छन् ।
आसाम राईफल्स् एक्स सरभिस्मेन बुटवल नेपालको आयोजनामा सम्पन्न भएको सो सम्मेलनमा ९८ बर्षिय पुर्व सैनिक हवल्दार तेजबहादुर थापासहित करिब १ दर्जनलाई उनिहरुले ईमान्दारपुर्वक सैनिक जिवन बिताएको भन्दै सम्मान गरिएको थियो । यसरी सम्मानित हुने पुर्व सैनिकहरु राईफलमेन रबिलाल भुसाल ८६ बर्ष, लेसनायक तुलबहादुर क्षेत्री, हवल्दार छविलाल थापा ८२ बर्ष, सुवेदार लालबहादुर थापा ८३ बर्ष, खिमबहादुर राना ८४ बर्ष, राईफलमेन उद वहादुर सुनार ८१ बर्ष र सैनिक परिवारबाट सावित्री दर्लार्मी थापा ९० बर्ष रहेको पुर्व अध्यक्ष हवल्दार छविलाल पुनले जानकारी गराए ।
कार्यक्रममा अध्यक्ष सुबेदार मेजर रामबहादुर कार्की, सुबेदार योजन बहादुर थापा, वेलफेयर अफिसर उमानन्द उपाध्याय, सचिव उमाकान्त खड्का, सल्लाहकार धनबहादुर खनाल लगाएतले अन्य भारतिय सैनिक सरहको सेवा सुबिधा पाउनु पर्ने माग गरेका थिए । आसाम रेजिमेन्टस्का पेन्सनरहरु लामो समयदेखि अन्य रेजिमेन्टका भारतिय सैनिकले पाउने गरेको सेवा सुबिधाबाट बन्चित रहदै आएका छन् । हाल लुम्बिनी प्रदेशमा आसाम राईफल्स्बाट सेवा निबृत्त सैनिकहरुको संख्या करिब ३ हजार रहेको अध्यक्ष कार्कीले जानकारी गराएका छन् ।












