बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

प्रकाशित मिति:

बुटवल चैत । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ ।बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो ।अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

उहाँले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानून बनाइरहेको बताउनुभयो ।सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उहाँले बताउनुभयो ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने बताउनुभयो । बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि रोकिने उहाँले बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताउनुभयो । उहाँले ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरिने बताउनुभयो ।