स्याङ्जा सहयोग समाजको युरोप भेला सम्पन्न- अक्षयकोषमा युरोपबाट ३० लाख जम्मा गर्ने

प्रकाशित मिति:

भरत प्रधान-लिस्बन,  बैशाख । स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।सोमबार सम्पन्न भएको भेलाले बिभिन्न निर्णय समेत पारित गरेको छ । भेलाले “मानवसेवामा स्याङ्जावासीको सोच, एक करोड अक्षयकोष” भन्ने मूल नाराका साथ स्थापना गर्न लागेको अक्षयकोषका लागि पोर्चुगलबाट १० लाख रुपैयां सहित युरोपबाट कुल ३० लाख रुपैयां संकलन गर्ने निर्णय गरेको छ । दुई दिन सम्म चलेको भेलाले अक्षयकोषलाई बिशेष अभियानका रुपमा सञ्चालन गर्ने, समाजको महादेश स्तरीय भेला गर्ने, सहकारी मार्फत् सामूहिक लगानी गर्ने, युरोपका बिभिन्न मुलुकमा रहेका स्याङ्जालीहरुलाई संगठीत र गोलबन्दीत गर्ने, स्याङ्जाको बिकास र समृद्धिका लागि बिभिन्न संघ–संस्था संग सहकार्य गर्ने लगायतको निर्णय गरेको समाजले जनाएको छ ।

सो अवसरमा बोल्दै स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले स्याङ्जाको बिकास र समृद्धिका लागि बिश्वभर छरिएर रहेका प्रवासी स्याङ्जालीहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो । समाजले स्थापनाकाल देखि नै सामाजिक र परोपकारका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै अर्यालले मानवसेवाका लागि अक्षयकोष मार्फत् जोडीन सबै प्रवासी स्याङ्जालीहरुलाई आग्रह समेत गर्नुभयो ।कार्यक्रममा समाजका अन्र्तराष्ट्रिय समन्वय समितिका वरिष्ठ सल्लाहकार थर्क सेन, सल्लाहकारहरु शशी पौडेल, धुर्बराज पौडेल, एमपी अर्याल, उपाध्यक्ष हेमन्त रानाभाट, महिला सचिव इन्दिरा खनाल, युरोप संयोजक रामचन्द्र शर्मा, समाजका स्पेन अध्यक्ष बिमल गुरुङ, बेलायतका अध्यक्ष शारदा गुरुङ, नेदरल्याण्डका अध्यक्ष राजेन्द्र शर्मा, बेल्जियमका उपाध्यक्ष पूर्ण प्रसाद खनाल, फ्रान्सका महासचिव उदयराज पाण्डे लगायतले बोल्दै प्रवासमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई जिल्लाको बिकास र समृद्धिमा लगानी गर्नका लागि समाज मार्फत् सबैले हातेमाले र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा, प्रवासी मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामीछाने, नेपाली जनसम्पर्क समितिका यामेन्द्र घर्तीमगर, महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेल, नारी समाज पोर्चुगलकी महासचिव पुनम गौतम लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।कार्यक्रम समाजका अध्यक्ष अर्जुन अर्यालको अध्यक्षता, पूर्व महासचिव बिपिन अर्यालको सञ्चालन र उपाध्यक्ष देबी डोटेलको स्वागतमा सम्पन्न भएको थियो ।कार्यक्रममा ख्यातीप्राप्त गायक रुपक डोटेल, दिनेश खड्का, अर्जुन गैरे लगायतले सांगितीक प्रस्तुती समेत दिनुभएको थियो । भेलामा अन्र्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहित स्पेन, फ्रान्स, पोर्चुगल, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, बेलायत लगायतका मुलुकका राष्ट्रिय समन्वय समितिका प्रतिनिधिहरुको सहभागीता रहको थियो ।