सामाजिक सञ्जालमार्फत् गगन थापाले भने–अपराधमा संग्लनको भारी पार्टीले बोक्न सक्दैन
काठमाडौं, जेठ – नेपाली कांग्रसका महामन्त्री गगन थापाले आपराधिक गतिविधिको अनुसन्धानमा तानिएको व्यक्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्।फेसबुकमा लामो स्टाटस लेख्दै महामन्त्री थापाले पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने बताएका हुन् ।पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन,’ उनले लेखेका छन्, ‘पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो– अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो।’
थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको कोही पनि व्यक्तिलाई जोगाउने गरी पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गर्न नमिल्ने बताएका छन् ।उनले पार्टीले शरणार्थी प्रकरण मात्रै नभएर कुनै भ्रष्टाचारमा मुछिएर अनुसन्धानको घेरामा परेको व्यक्ति पार्टीबाट स्वतः निलम्बन हुने र निर्दोष सावित नभएको अवस्थासम्म पार्टीको जिम्मेवारीमा नरहने दाबी गरेका छन्।पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै नभएर सबै खाले भ्रष्टाचारको निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुन बमोजिमको सजाय पाउनै पर्छ,’ उनले लेखेका छन्, ‘जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ।’
महामन्त्री थापाले परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्ने बताएका छन्।अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग नपुछिने भन्दै अनुहारकै दाग पहिले मेटाउनुपर्ने थापाले बताएका छन्। उनले लेखेका छन्, ‘अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ । त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ। सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला भएको भन्दै त्यसको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन तथा खबरदारी आग्रह गरेका छन्।












