प्राध्यापक डाक्टर गोविन्द केसीले पुस २५ गतेसम्मका लागि अनशन स्थगित गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही दिनको समय माग गरेपछि डाक्टर केसीले अनशन स्थागित गरेका हुन् ।
डा केसीले एक विज्ञप्ति नकालेर बुधबारबाट सुरु गर्ने भनेको अनशन स्थगित गरिएको जानकारी गराएका हुन्। उनी अनशन तयारीका लागि मंगलबार इलाम पुगेका थिए।डाक्टर केसीले १५ औँ अनशनको बेला सरकारले आफूसँग गरेको सम्झौता बमोजिम नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने बताएका छन्। उनले विधेयक पारित गर्नका लागि संसदीय समितिमा चलखेल भए कुनै पनि बेला अनशन बस्न सक्ने चेतावनी समेत दिएका छन्।डाक्टर केसीले शिक्षामन्त्रीको कारण विधेयक पारित हुन नसकेकोआरोप लगाएकाछन्। उनले चिकित्सा शिक्षा अध्यादेशका जनतामुखी र विद्यार्थीमुखी प्रावधानहरु काटेर विधेयक संसदमा पेश गरेका शिक्षा मन्त्रीको अवरोधका कारण सम्झौता अनुसार विधेयक पारित हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन्।यस्तै डाक्टर केसीले सरकार र पार्टीहरुको प्राथमिकता अझै पनि आम नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिने भन्दा पनि छिटो निजी मेडिकल कलेज खोलेर व्यापार गर्ने रहेको आरोप लगाएका छन्। जसका कारण सुदुर पश्चिम र मध्य पश्चिम जस्तै सुदुर पूर्वका पहाडी क्षेत्रबाट पनि विशेषज्ञ तहको स्वास्थ्य सेवाका लागि निकै टाढा पुग्नुपर्ने अवस्था विद्यमान रहेको विज्ञप्तिमा उल्लेख छ।
डा। केसीले सरकारसँग भएको पछिल्लो सम्झौता बमोजिम पूर्वमा पाँचथर(इलाम, सुदूरपश्चिममा डडेल्धुरा(डोटी र प्रदेश नम्बर २ तथा उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने सम्बन्धमा यस अगाडि नक्सांकन भएका ठाउँहरुको सम्भाव्यता अध्ययन एक महिनाभित्र प्रारम्भ गर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका कार्यक्रम सुरु गर्ने सम्बन्धमा कार्यदल गठन गर्ने बुँदाहरु समावेश भएपनि पनि राजनीतिक नेतृत्व र सरकार ती काम गर्न गम्भीर भएर नलागेको डाक्टर केसीको भनाइ छ।










